सोमबार, असार २, २०८२

राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने

नेपालखोज २०८२ असार २ गते १२:४६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १ गते आइतबार बसेको संसद्को बैठक भत्ता अस्वीकृत गर्ने भएको छ । उक्त बैठक बहिष्कार गरेको राप्रपाले भत्ता नलिने भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै राप्रपाले आइतबारको बैठकमा विरोध जनाएको थियो । तर संसद्मा अवरोध भएको समयमा पनि बैठक सञ्चालन गरेका कारण बहिष्कार गर्नुपरेको र बहिष्कार गरेको बैठकको भत्ता नलिने निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको आज बसेको बैठकले गरेको हो ।

‘उक्त बैठकबापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन हुन अनुरोध छ, उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले निर्णय गरेको जानकारी गराउँदछौँ,’ राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलले आज संसद् सचिवालयलाई पठाएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया