इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

जेरुसेलम । इजरायलली सेनाले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गर्न लागेको इजरायली रक्षामन्त्रीले बताएका छन् ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताएका छन् ।
‘इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ,’ उनले एक विज्ञप्ति जारी गरी बताएका छन् । उनले भने, ‘आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन जारी गरिएको छ ।’
इजरायली सेनाले सोमबार राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ ।
‘आगामी घण्टाहरूमा, इजरायली सेना हालैका दिनहरूमा जस्तै तेहरानको यस क्षेत्रमा इरानी शासनको सैन्य संरचनामा आक्रमण गर्न परिचालित हुनेछ,’ सेनाले समाजिक सञ्जाल एक्समा पोस्ट गरेको फारसी भाषामा लेखिएको सन्देशमा भनिएको छ ।
खाली गर्न भनिएको क्षेत्र इरानी राजधानीको एक घना क्षेत्र हो । यहाँ कम्तिमा चार वटा अस्पताल र स्वास्थ्य केन्द्र, एक प्रमुख पुलिस भवन र सरकारी प्रसारणकर्ता आईआरआईबी रहेका छन् ।
यसमा कतार, ओमान र कुवेतका दूतावासका साथै संयुक्त राष्ट्रसङ्घका कार्यालय र एजेन्सी फ्रान्स–प्रेस ब्यूरो (एएफपी)को कार्यालय पनि छ । सोमबार इजरायली सेनाले तेहरानमाथिको आकाशमा पूर्णरूपमा हवाई नियन्त्रण हाँसिल गरेको बताएको थियो । रासस/एएफपी
प्रतिक्रिया