मंगलबार, असार ३, २०८२

सामाजिक सञ्जालमा अश्लील तथा अमर्यादित सामग्री सार्वजनिक गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८२ असार ३ गते १६:३०

काठमाडौं । सामाजिक सञ्जाल तथा युट्युबमा सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत सामग्री प्रकाशन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार तनहुँ जिल्लाको भानु नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आएका ३२ वर्षीय प्रेम विक्रम कडेललाई पक्राउ गरिएको हो । कडेलले आफ्ना सामाजिक सञ्जाल, विशेषगरी ‘प्रेम कडेल’ नामक युट्युब च्यानलमार्फत अश्लील, आपत्तिजनक र सामाजिक मर्यादाविपरीत विषयवस्तुहरू नियमित रूपमा प्रसारण गर्दै आएका थिए ।

उनले विभिन्न व्यक्तिहरू तथा संस्थाहरूलाई लक्षित गरी गालीगलौज, लाञ्छना र अमर्यादित भाषाको प्रयोग गर्दै सामग्री प्रकाशन गर्दै आएको उजुरीपछि साइबर ब्यूरोले आवश्यक अनुसन्धान थालेको थियो। त्यसैको आधारमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार हाल कडेलविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । साइबर ब्यूरोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई मर्यादित ढंगले सामग्री पोस्ट गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया