बुधबार, असार ४, २०८२

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ

नेपालखोज २०८२ असार ४ गते १६:३७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया मीना सुरजीत सिंक खेमानी मंगलबार राति पक्राउ परेकी छिन् ।

एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका–३ बस्ने सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका–१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।

पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–९ गौरीघाट बस्ने सर्लाही हरिपुर नगरपालिका–९ घर भएका २६ वर्षीय आयुष शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं महानगरपालिका–२८ कमलादीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्याम कुमारलाई काठमाडौं महानगरपालिका–१४ खसीबजारबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका–१६ बाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुर्खेत । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा बस्ने ५० वर्षीय राम चन्द्र सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राम चन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया