आइतबार, वैशाख २३, २०८१

‘एकद्वार प्रणालीबाट मात्रै उपत्यकाको फोहोर व्यवस्थापन सम्भव छ ’

नेपालखोज २०७८ असोज १६ गते १९:४०


काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन एकद्वार प्रणालीबाट मात्र सम्भव हुने सरोकारवालाले बताएका छन् । काठमाडौंमा आज (शनिबार) वास मिडिया फोरमले दोस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको ‘उपत्यकाको फोहोर व्यवस्थापन’ विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागी सरोकारवालाले यस्तो बताएका हुन् ।

सरोकारवालाहरूले संघ, प्रदेश र स्थानीय तहले एकीकृत रणनीति अपनाए मात्रै फोहोर व्यवस्थापन हुने ठोकुवा गरेका छन् । तीनै वटा तह मिलेर दीर्घकालीन योजना बनाउनुपर्ने सरोकारवालाको जोड छ ।

फोहोर व्यवस्थापन विज्ञ नमस्तेलाल श्रेष्ठले फोहोर व्यवस्थापनको वर्तमान सबल र निर्वल पक्षको विश्लेषण गरेर गुरुयोजना बनाउनु पर्नेमा जोड दिए । उनी फोहोर व्यवस्थापन घरबाटै गर्नुपर्नेमा जोड दिन्छन् ।

सिसडोलका बासिन्दा राममणि घिमिरेले काठमाडौं सफा गर्दा सिसडोलवासी दुर्गन्धले बस्नै नसक्ने अवस्था भएको गुनासो गरे । काठमाडौंको फोहोर जम्मा हुँदा आफूहरु पीडित भएको जनाउँदै उनले फोहोर व्यवस्थापन एकद्वार प्रणालीबाट हुनु पर्ने बताए । फोहोर व्यवस्थापनका लागि केन्द्रमा प्राधिकरण बनाएर अधिकारप्राप्त समिति बनाउनुपर्ने उनी बताउँछन् ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ उपत्यकामा डरलाग्दो फोहोरको समस्या भएको दाबी गर्छन् । उनले फोहोर जथाभावी नफाली घरमैं व्यवस्थापन गर्न महानगरवासी लाग्नु पर्नेमा जोड दिए । उनले विस्तारै सवैको सहकार्यमा बन्चरेडाँडाँमा फोहोर व्यवस्थापनका लागि महानगरपालिका जुटेको जानकारी दिए ।

लुमन्तिकी कार्यकारी निर्देशक लजना मानन्धरले बदलिँदो सहरीकरणसँगै प्रभावकारीरूपमा फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या झन् बल्झिएको प्रष्ट पारिन् ।उनले महानगरपालिकाका जिम्मेवार व्यक्तिले भनेजस्तो घरबाट फोहोर व्यवस्थापन तत्काल सम्भव नभएको जिकिर गरिन् । सरकारले वातावरण मैत्रीमा जोड दिँदै विशेष नीति बनाए व्यवस्थापन सम्भव हुने उनको दाबी छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल देशभर फोहोरको अवस्था देख्दा सरकार नभएको महसुस भएको गुनासो गर्छन् । उनले घरघरमा फोहोरको व्यवस्थापन गरिनुपर्नेमा जोड दिँदै टोलटोलमा सचेतना फैलाउन आवश्यक भएको पनि बताए ।

काठमाडौं महानगरपालिकाका ढल व्यवस्थापन विभागका प्रमुख प्रभात श्रेष्ठले ५५ प्रतिशत फोहोर कुहाउन सकिने र बाँकी पुनः प्रशोधन गरेर व्यवस्थापन गर्न सकिने भनाइ राखे । उनले फोहोर पानीको व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न ठाउँमा प्रशोधन केन्द्र बनाउन थालेको र केही निर्माण सम्पन्न भएको प्रस्ट पारेका छन् ।

सिसडोलको समस्या ज्यूँका त्यूँ

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जनतादेखि सवै सरोकारवाला नमिलेसम्म दिर्घकालिन योजना पनि नबन्ने र दिर्घकालिन रूपमा फोहोर व्यवस्थापन पनि नहुने दाबी गरेका छन् । उनी फोहोर व्यवस्थापनका लागि एकद्वार प्रणाली नैं उपयुक्त हुने बताउँछन् ।

सहरी विकास विज्ञ एवं नेपाल सरकारका पूर्वसचिव किशोर थापाले उपत्यकाको १८ वटा नगरपालिकाको फोहोर हटाउन काठमाडौं महानगरपालिका मात्रै खटिनु उचित नभएको प्रष्ट पारे । उनले सरकारले १८ वटा नगरपालिकालाई एकै ठाउँमा ल्याएर जिम्मेवार बनाए व्यवस्थापनमा सघाउ पुग्ने ठोकुवा गरेका छन् । नगरपालिकाहरूलाई मात्रै दोष नदेखाई नागरिकहरू पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया