बिहीबार, असार ५, २०८२

इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दाबी

नेपालखोज २०८२ असार ५ गते १९:५६

तेहरान । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको छ ।

दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन् ।

‘आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो’ अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ ।

‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ । इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले पनि आक्रमणबारे एक वक्तव्य जारी गरेको छ ।

सेनाले इजरायलको हवाई क्षेत्र रक्षाविहीन रहेको र त्यहाँ कुनै पनि सुरक्षित स्थान नहुने चेतावनी यसअघि नै दिएको थियो ।
-रासस/एएफपी

प्रतिक्रिया