शनिबार, असार ७, २०८२

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

नेपालखोज २०८२ असार ७ गते ७:००

भोजपुर । यहाँ भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि सङ्कलित तथ्याङ्कको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो ।

षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ ।

वडास्तरिय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिए ।

सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ ।

पालिकास्तरमा निर्णय भएर आएकाको जिल्लामा पुनः प्रमाणीकरण गरेपछि लालपूर्जा वितरणको काम अघि बढाउने आयोगले जनाएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको तथ्याङ्क सङ्कलन पश्चात वडा तथा पालिकास्तरबाट प्रमाणीकरण थालिएको हो ।

अन्तिम प्रमाणीकरणमा परेकालाई राज्यको नियम अनुसारको जग्गा वितरण हुने आयोगले जनाएको छ । -रासस

प्रतिक्रिया