शनिबार, असार ७, २०८२

बजेटले किसानलाई अन्याय गर्यो, दुई बुँदे सहमति कार्यान्वयन नभए संघर्ष : माओवादी नेता बस्नेत

नेपालखोज २०८२ असार ७ गते ११:५०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बहादुर बस्नेतले ओली सरकारले ल्याएको बजेटमा किसानलाई अन्याय गरेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बस्नेतले २ बुँदे सहमति कार्यान्वयन नगरे संघर्षको चेतावनीसमेत दिए ।

४८औँ जुगेडी किसान संघर्ष दिवसको अवसरमा पूर्व-गृहमन्त्रीसमेत रहेका बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर २ बुँदे सहमति गरेको बताए । उनले सरकारसँग भएको सहमति बारे कुनै गलत धारण नबनाउनसमेत आग्रह गरेका छन् । ‘यदि ३० दिनभित्र समहति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुल्ला छ, तर आशा गरौं छिट्टै उच्चस्थतरीय छानविन समिति बन्ने छ,’ बस्नेतले भने ।

बस्नेतले किसान आन्दोलनमा जनवादी क्रान्तिको महत्वपूर्ण भूमिका रहेका बताएको बताउँदै भने, ‘२०५२ साल अघि भएका विभिन्न किसान आन्दोलनले सही दिशामा पक्रन नसक्नुको मुख्य कारण सामन्तवादप्रति केन्द्रीत थिएनन्, सो विषय जनयुद्धले समेट्यो र निर्णायक बन्यो ।’

बस्नेतले समय क्रमसँगै सामाजिक जीवनको परिस्कृत मूल्य, मान्यता र आवश्यकता अनुसार संघर्षका स्वरुप पनि बदलिन सके मात्र किसान आन्दोलनलाई नविनरुप दिन सकने बताए । संगठनका उपाध्यक्ष श्रीगोविन्द महर्जनले जुगेडी लगायतका संघर्षहरुलाई सत्तामा पुग्ने र बिर्सने प्रवृत्तिविरुद्ध आफूहरुले खबर्दारी गर्दै आएको बताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का पार्टी फ्य्राक्सन इन्चार्ज तथा पूर्व मन्त्री सुनिल मानन्धरले असार ५को दिनलाई किसानको संघर्ष र बलिदान दिवसकोरुपमा मनाउँदै आएको बताए । किसानको आन्दोलन माथि उठ्न नसकेको र यसको जिम्मेवारी आफ्नो पार्टी माओवादीले पनि लिनु पर्ने बताए ।

त्यसैगरि वरिष्ठ पत्रकार नरेन्द्र जंग पीटरले जुगेडी किसान संघर्ष र देशमा हुँदै आएका किसानहरुको आन्दोलनले समग्र नेपाली वामपन्थी तथा सर्वहारा किसान वर्गलाई माथि उठाउन इतिहासलाई लिपिवद्ध गरि सहिदहरुले दिएको योगदानलाई भुल्नु नहुने बताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान योद्धाहरुको सम्मानमा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक जुगेडी किसान संघर्षलाई कहिल्यै पनि भुल्न नहुने बताए । श्रेष्ठले आफ्नो संगठनले जुगेडी संघर्षको दिनलाई सँधै आत्मसाथ गर्दै आएको बताउँदै किसानको मुक्ति र संघर्षलाई मुक्तिको सही बाटो भएको बताए ।

प्रतिक्रिया