आइतबार, असार ८, २०८२

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला

नेपालखोज २०८२ असार ८ गते ७:३७

मुस्ताङ । सधैँजसो कृषि, पशुपालन र घरायसी कामधन्दामा व्यस्त हुने मुस्ताङको ठिनीगाउँका थकाली महिला व्यावसायिक रूपमा सङ्गठित हुँदै जान थालेका छन् । त्यहाँका महिलाले सामुदायिक कृषि र पशुपालनका साथै घरबास (होमस्टे) चलाएर वैकल्पिक आयआर्जन गर्न थालेका छन् ।

लुकेको हीरा नामको उपाधि पाएको मुस्ताङको ठिनीगाउँ सदरमुकाम जोमसोम नजिकै भएर पनि ओझेलमा परेको थियो । त्यस गाउँमा महिलाले होमस्टे चलाउन थालेपछि विस्तारै पर्यटकको उपस्थिति बढ्दै जान थालेको छ । थकाली सामुदायिक होमस्टे चलाएर त्यहाँका महिलाले गतिलो आम्दानी गर्न थालेका छन् ।

पर्यटनका हिसाबले पछि परेको ठिनीगाउँमा स्थानीय जनमुक्ति युवा क्लबको सक्रियतामा त्यहाँका महिलालाई सङ्गठित गर्दै २०७३ सालदेखि ग्रामीण होमस्टे सञ्चालन गरिएको हो । सुरुआती चरणमा ठिनीमा स्थानीय जुमा थकाली, मीना थकाली, स्मिता थकाली, आइतकुमारी थकाली र बत्तीमाया थकाली गरी पाँच घरपरिवारले सामूहिक रूपमा ग्रामीण होमस्टे सुरु गरेका थिए । उनीहरूले सुरु गरेको होमस्टे दोस्रो वर्षमा सरकारी निकायमा विधिवत दर्ता गरेका थिए ।

सधैँजसो कुटोकोदालो र घरधन्दामा व्यस्त भइरहने यहाँका थकाली महिलालाई अहिले भने पाहुना उम्काउन भ्याइनभ्याई छ । सुरुमा पाँच घरबाट सुरु भएको ठिनीगाउँको थकाली सामुदायिक होमस्टेमा अहिले १२ घरपरिवार जोडिएको थकाली सामुदायिक होमस्टेका सचिव जुमा थकालीको भनाई छ ।

ठिनी थकाली सामुदायिक होमस्टे जिल्लाकै अब्बल होमस्टेका रूपमा स्थापित भइसकेको छ । सदरमुकाम जोमसोमबाट पूर्वको अग्लो स्थानमा अवस्थित यो होमस्टेको दूरी दुई किलोमिटर टाढा पर्छ । जोमसोमबाट १० मिनेटमै पुग्न सकिने ठिनी थकाली होमस्टेसम्मको सडक कालोपत्र भइसकेको छ ।

घरपझोङ रिङरोड सडक निर्माणाधीन भएकै कारण यो होमस्टेमा बाँस बस्न पर्यटकको लर्को नै लाग्ने गरेको सचिव थकालीले बताइन् । सडक मोटरबाटो सहज भएको, होमस्टेका सेवा सुविधा र प्रचारप्रसार भइसकेकाले दैनिक ५० देखि दुई सय बढी पर्यटक यहाँमा आउने गरेको उनको भनाइ छ ।

जिल्लाकै नमूनाका रूपमा रहेको ठिनी थकाली सामुदायिक होमस्टेमा पाहुनाका लागि सभाहल, किचन र शौचालयलगायतका पूर्वाधार निर्माण भइसकेकाले निकै सहज भएको बत्तीमाया थकालीले उल्लेख गरिन ।

पछिल्लो समय घरपझोङ गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत रैथाने बाली विविधिकरणका लागि उपकरण तथा तालिमको व्यवस्था गरेकाले होमस्टेका महिलाले उवा, फापर, जौँलगायतका विभिन्न परिकार बनाएर बिक्री गर्न थालेका छन् ।

होमस्टेमा कुनै सभासमारोह र कार्यक्रम गर्नुपरेमा समेत त्यहाँका होमस्टे महिलाले सेवा प्रदान गरेको ठिनीका स्थानीय नीरज थकालीले जानकारी दिए । मुख्य राजमार्ग सडकमा सञ्चालन भएका होटलभन्दा होमस्टेमा खान र बस्नका लागि सस्तोमा सेवा दिने गरेको उनको भनाई छ । होमस्टेका महिलाले पर्यटकलाई स्वागत र बिदाइ गर्दा सम्मानस्वरुप आतिथ्यता प्रकट गर्ने गरेकाले पर्यटक पुनः मुस्ताङ आउँदा होमस्टेमा बस्ने वातावरण बनाउने उनले बताए ।

मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक फर्किँदा ठिनी थकाली सामुदायिक होमस्टेमा बाँस बस्न आउने गरेको होमस्टे प्रतिनिधि मीना थकालीले बताईन् । सबैभन्दा बढी पाहुना असोज, कात्तिक र चैत, वैशाखमा आउने गरेको उनले जानकारी दिइन् । समुद्री सतहबाट दुई हजार ९०० मिटरको उचाइमा अवस्थित होमस्टेबाट धवलागिरि, निलगिरि हिमाल तथा खेतीयोग्य भूभाग र कालीगण्डकी करिडोर मनमोहक देखिन्छ ।

ठिनी गाउँबाट जोमसोम बजार, स्याङ, मार्फागाउँ लगायतका दृष्य मनमोहक देखिन्छ । ठिनी हुँदै त्यहाँको हिउँचितुवा गुफा, यारुझो भ्यूटावर, ढुम्बाताल, घरपझोङ किल्ला, कुछप तेरङ्गा गुम्बा र थकाली सङ्ग्रालय आदि पर्यटकले अवलोकन गर्ने गर्छन् । रासस

प्रतिक्रिया