शाकाहारीलाई सोधिने प्रश्नको उत्तर अब ‘शाकाहारः तर्काधार’मा

काठमाडौं । बालककालदेखि नै पशुपक्षीको हितमा क्रियाशील रघु आदित्यको पुस्तक ‘शाकाहारः तर्काधार’ शनिबार विमोचन भएको छ । कुनै पदानुक्रम र विशेष अतिथिबिनाको सो कार्यक्रममा पशु अधिकार र शाकाहार पर्वद्र्धनका लागि क्रियाशील प्रमदा शाह, मञ्जुश्री स्थापित, डा आयशा उप्रेती, इभा डङ्गोल, शोभा भुजेलले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।
विमोचनमा किताब लेख्दाका आफ्ना अनुभव बाँड्दै लेखक आदित्यले भने, ‘पशुले पाउने कष्ट बुझेर आठ वर्षकै उमेरमा माछामासु खान छाडेँ । पछि त दही दूधलगायत सबै पशुपक्षीजन्य पदार्थ खान छाडेँ । तर प्रश्नले मलाई कहिल्यै छाडेनन् । सबैको प्रश्नको उत्तर दिन फुर्सद पनि नहुने र सबैलाई स्पष्टीकरण दिँदा हत्तु भएकाले यो किताब लेखेर सबैलाई एकैचोटी उत्तर दिउँ झैँ लाग्यो ।’
पुस्तकमा लेखकले पूर्ण शाकाहारी (भिगन) जीवनशैलीप्रति उठ्ने प्रश्न र आलोचनालाई सक्दो सम्बोधन गर्ने प्रयास गरेका छन् । मूल रूपमा यी प्रश्नका उत्तर पुस्तकमा समावेश छन्, ‘शाकाहारी भएर शरीरको प्रोटिन आवश्यकता कसरी पूरा गर्छौं ? के पशुहरू मानव उपभोगका लागि होइनन् र ? पूर्ण शाकाहारी हुनु त धेरै कट्टरता नै होइन र ? शाकाहारीका नाममा धर्ममाथि अतिक्रमण त भएको छैन ?’
लेखकका अनुसार पुस्तक पाँच अध्यायमा विभाजित छ । आदित्यले भने, ‘चार–पाँच वर्षको समर्पित प्रयासको नतिजा यो पुस्तक हो, जुन शाकाहारीप्रति उठ्ने बारम्बारका प्रश्न र आलोचनाको जवाफ हो । पशु अधिकारको वकालत र पशुप्रतिको क्रुरताविरुद्धको अडान पनि हो यो पुस्तक ।’
लेखकले कार्यक्रममा आफ्नी दिदी मोना श्रेष्ठ आदित्यप्रति यो क्षण सम्भव बनाउन दिएको साथप्रति कृतज्ञता व्यक्त गरिन् । विमोचन समारोहपछि आदित्यकी ७० वर्षीया आमा सुमित्रा श्रेष्ठले भने, आज मेरो मन गर्वले भरिएको छ । छोराले प्रेम, करुणा, अहिंसा फैलाउन काम गरेको छ । एउटी आमाका लागि यो गर्वको कुरा हो ।
‘एनिमल नेपाल’की संस्थापक र सञ्चालकसमेत रहेकी शाहले पुस्तक अन्तरराष्ट्रिय सत्रको रहेको बताउँदै नैतिकता, न्याय र पशुको आधारभूत अधिकारमा आधारित यसका तर्कको प्रशंसा गरिन् । पत्रकार विन्देश दाहालले पनि शाहको मतमा सहमति जनाए ।
नेपाल शाकाहारी सङ्घ (नेशासं) का अध्यक्ष कृष्ण गुरुङलगायत वक्ताले अनुसन्धानमा आधारित तर्कसहित शाकाहारी र भिगनहरुप्रति आउने आरोप र आलोचनालाई खण्डन गर्ने सन्दर्भमा पुस्तक शक्तिशाली भएको भन्दै प्रशंसा गरे । गुरुङले नेशासंको तर्फबाट पुस्तकलाई आधिकारिक रूपमा समर्थन गर्ने घोषणा गरे र भने, पशु अधिकारको क्षेत्रमा यो यो मार्गदर्शक निर्देशिका हो ।
छोराको कर्मप्रति गर्व गर्दै लेखकका पिता प्राध्यापक आनन्द आदित्यले भने, यदि रघुले पूर्खाको ऋण नै तिर्नुपर्ने कुरा मान्ने हो भने पनि पुस्तक प्रकाशनले उनलाई त्यसबाट अब मुक्त गरेको छ । दुई सय ५२ पृष्ठको यो पुस्तकमा चित्रात्मक प्रस्तुति र सन्दर्भहरू समावेश छन् ।
प्रतिक्रिया