जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका–८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रूपैयाँ, ३ हजार भारतीय रूपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मदनभण्डारी पेप्सीडिपो नजिक सडकमा बा.प्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।
रूपन्देहीको मायादेवी गाउँपालिका–७ गरगट्टीस्थित सडकमा लु.२ ख २४७४ नम्बरको टिपरले लु.४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सम्मरीमाई गाउँपालिका–५ रोहिनिहवा बस्ने २० वर्षीय समिर खान र मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
पर्साको बहुदरमाई नगरपालिका–५ पटनीस्थित सडकमा बिआर ०१ पिए ४४०९ नम्बरको सुमो र बागमती प्रदेश ०२–०३० प ६७७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत पुर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार सुमो चालकको खोजी गरिरहेको छ ।
सुर्खेतको चौकुने गाउँपालिका–६ स्थित सडकमा क.प्र.०२–००१ त ०२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार पञ्चपुरी नगरपालिका–८ बस्ने ५२ वर्षीय राजु रसाइली र ६८ वर्षीय भगत सिंह विकको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र साल्कोटमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत ५ जनाको सोही स्वास्थ्य केन्द्रमा र ३ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने रूपन्देही सिद्धार्थ नगरपालिका–१२ घर भएका २४ वर्षीय रोशन ज्ञवालीको कोठाबाट ल्यापटप, मोबाइल तथा नगद सहित करिब १ लाख ४२ हजार ७ सय रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफल बस्ने ६० वर्षीय राजेन्द्र उदासले सोही ठाउँमा संचालन गरेको ट्रफी, मेडल र स्टिकर गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराको सुवर्ण गाउँपालिका–८ पर्सुरामपुर टोल बस्ने शेख अलाउदिनको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख २३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–१० शुकासाल बस्ने महेश लुहारले संचालन गरेको पसलमा शनिबार राति आगलागी हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया