आइतबार, असार ८, २०८२

गाजाबाट थप तीन बन्धकको शव इजरायली सेनाको नियन्त्रणमा

नेपालखोज २०८२ असार ८ गते १६:११

जेरुसेलम । इजरायली सेनाले गाजामा हमास लडाकू समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि तीन जना बन्धकको शव फेला पारेको आइतबार जनाएको छ । गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको सेनाले जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा अपहरण गरी बन्धक बनाइएका आफ्ना छोरासहित उनीहरूको शब गाजाको किब्बुट्जमा हत्या गरिएपछि गाजामा ल्याइएको र इजरायली सेनाले नियन्त्रणमा रहेको मृतकमध्ये एकका पिताले बताए । उनले इन्स्टाग्राममा पोस्ट गरेको सन्देशमा ‘आइडिएफ (इजरायली सेना) र शिन बेट सुरक्षा सेवाका बहादुर लडाकूहरू’ प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

तीन सन्तानकी आमा ७१ वर्षीया केइडारलाई पनि अपहरण गरिएको थियो भने अक्टोबर ७ को बिहान हमाससँग प्रतिकार गर्ने क्रममा बन्धक बनाइएका १९ वर्षीय ट्याङ्क कमान्डर लेभिन्सनको पनि किब्बुट्जमा मृत्यु भएको थियो । सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

आक्रमणका क्रममा पक्राउ परेका २५१ बन्धकमध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा कम्तीमा ५५ हजार ९०८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई भरपर्दो मानेको छ ।

प्रतिक्रिया