सोमबार, मंसिर २९, २०८२

रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

नेपालखोज २०८२ असार १० गते २१:०९

किभ, युक्रेन । पूर्वी युक्रेनको ड्निप्रो सहरमा रूसी क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने धेरै नागरिक घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेहरूमध्ये १० जना बालबालिका पनि रहेका छन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस घटनाको केही घण्टाअघि युक्रेनकै सुमी क्षेत्रमा भएको मानवविहीन हवाई यन्त्र (ड्रोन) आक्रमणमा पाँच वर्षका बालकको पनि निधन भएको थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यसैबीच नेदरल्याण्डमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी हुन पुगेका छन्, जहाँ मित्र राष्ट्रका नेताहरूसँग रूसविरुद्ध थप प्रतिबन्ध तथा सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ ।

ड्निप्रोपेत्रोभ्स्क क्षेत्रीय उद्धार सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते नागरिकहरूको उद्धार तथा उपचारको कार्य भइरहेको देखिन्छ । केही नागरिकहरू गम्भीर रूपमा घाइते भएको र तत्काल स्वास्थ्य सेवामा पठाइएको जानकारी आएको छ ।

युक्रेनका परराष्ट्रमन्त्री आन्द्रिय सिबीगाले भने ,जब विश्वका नेताहरू शान्ति र सुरक्षाको विषयमा छलफल गर्न भेला भइरहेका छन्, रूसले हिंसा र त्रास फैलाउने कार्यमार्फत शान्तिको प्रयासलाई अस्वीकार गरेको देखिन्छ । यो स्थितिमा मित्र राष्ट्रहरूले रूसमाथि थप दबाब दिनु समयको माग हो ।

क्षेत्रीय प्रमुख सेर्गी लिसाकका अनुसार ड्निप्रोमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै नजिकैको सामर नामक बस्तीमा पनि दुई जनाले ज्यान गुमाएका छन् र नौ जना घाइते भएका छन् । ड्निप्रो नगरप्रमुख बोरिस फिलाटोभले यस घटनालाई अत्यन्त दुस्साहसी आक्रमणको संज्ञा दिँदै भने,पूर्ण युद्ध सुरु भएयता ड्निप्रोमाथिको यो सबैभन्दा निर्लज्ज र क्रूर आक्रमणमध्ये एक हो ।

रूसी सेनाले हाल ड्निप्रोपेत्रोभ्स्क क्षेत्रको सीमातर्फ आक्रमण तीव्र पारिरहेको छ, जहाँ अहिलेसम्म उनीहरूको उपस्थिति थिएन । आक्रमणबाट विद्यालय, स्वास्थ्य संस्था र यात्रुवाहक रेल सेवामा पनि क्षति पुगेको छ, जसले नागरिक जनजीवनमा थप पीडा थपेको छ ।

यसअघि, सुमी क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना सर्वसाधारणले ज्यान गुमाएका थिए । क्षेत्रीय प्रमुख ओलेग ग्रिगोरोवका अनुसार,उनीहरू एउटै टोलमा बस्ने परिवारहरू थिए । रातको निद्रामा रहेका बेला यो आक्रमण भयो, जसले तिनीहरूको जीवन सधैंका लागि बदलियो ।

प्रतिक्रिया