संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्ः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन् ।
अध्यक्ष दाहालले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न आग्रह गरे । उनले भने, हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ, यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो ।
सङ्घीय निजामती सेवा र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष दाहालले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए । उनले थपे, संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौँ ।
अध्यक्ष दाहालले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिए । उनका अनुसार विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र सङ्घीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ ।
प्रतिक्रिया