बुधबार, असार ११, २०८२

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

नेपालखोज २०८२ असार ११ गते २०:५४

सेलाया, मेक्सिको । मेक्सिकोको गुआनावाटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक घरमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा १० जनाको ज्यान गएको पुष्टि गरिएको छ । पीडितहरूमध्ये केही बालबालिका पनि रहेका छन् ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ। राष्ट्रपति क्लाउडिया शेइनबाउमले बिहानको पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘निन्दनीय’ भन्दै दोषीको पहिचान र कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

गुआनावाटो राज्य, जुन औद्योगिक केन्द्र र प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, पछिल्ला वर्षहरूमा आपराधिक गिरोहबीचको हिंसाले गम्भीर असर पारेको छ । सरकारी तथ्यांकअनुसार, गत वर्ष राज्यभित्र तीन हजार भन्दा बढी हत्या भएका थिए ।

स्थानीय सुरक्षासम्बन्धी निकायहरूका अनुसार यस क्षेत्रमा सान्ता रोजा डे लीमा गिरोह र जलिस्को न्यू जेनेरेशन कार्टेलबीचको द्वन्द्व प्रमुख कारण मानिएको छ । सन् २००६ यता लागूऔषधसँग सम्बन्धित हिंसात्मक घटनाहरूले मेक्सिकोमा करिब चार लाख ८० हजार जनाको ज्यान लिइसकेको छ भने एक लाखभन्दा दुई बढी व्यक्ति हालसम्म बेपत्ता छन् । -रासस/एएफपी

प्रतिक्रिया