युके र कतार पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–३ घर भएका ३१ वर्षीया नबिना दाहाल घिमिरे र काठमाडौं कागेश्वरी महोहरा नगरपालिका–९ बस्ने सर्लाही कौडेना गाउँपालिका–४ घर भएका ४३ वर्षीय लछुमन साह तेली रहेका छन् ।
पक्राउ मध्ये नबिनाले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५२ लाख रूपैयाँ र लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया