दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान बन्द, सेप्टेम्बरको पहिलो सातादेखि पुनः सुरु हुने

मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।
समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा(जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए ।
जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा-जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताए ।
बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए । -रासस
प्रतिक्रिया