प्रहरीद्वारा नमोबुद्धमा मनसुनजन्य विपद् उद्धार बेस क्याम्प स्थापना

काभ्रेपलाञ्चोक । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ ।
सशस्त्र बलले तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा क्याम्प स्थापना गरेको जनाएको छ । प्रहरी निरीक्षक आलोक बस्नेतको नेतृत्वमा स्थापित क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।
यसैगरी, सो प्रहरी टोलीले बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्तिसुरक्षा कायम गर्नाका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पुर्याउने छ । हेडक्वार्टरले बिपी राजमार्ग क्षेत्रअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा मनसुनजन्य घटनालक्षित बेस क्याम्प स्थापनाको तयारी भइरहेको जनाएको छ ।
हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ । उसले गत जेठ १२ गते पनौती नगरमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त प्रकृतिको तालिम दिएर अभियानको सुरुआत गरेको थियो । यसैगरी, बनेपा नगरपालिकामा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै गत जेठ अन्तिम साता तीनदिने विपद् स्वयंसेवक आधारभूत तालिम दिइएको छ ।
तालिममा विपद् पूर्वतयारी, विपद्–उद्धार त्यसपश्चात्का प्रतिकार्यहरु राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको थियो । हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीनदिने तालिम प्रदान गर्दै जाने जानकारी दिए । तालिम अवधिभर रेडक्रसले प्राविधिक सहयोग गर्नेछ ।
प्रतिक्रिया