चीनमा वातावरणमैत्री उर्जा प्रणालीका लागि सातवटा नयाँ मापदण्ड सार्वजनिक

चीन । चीनले वातावरणमैत्री उर्जा उत्पादन र अन्तरदेशीय विद्युत् सञ्जाल विस्तारलाई प्रोत्साहन गर्नका लागि सातवटा नयाँ अन्तर्राष्ट्रिय मापदण्ड सार्वजनिक गरेको छ ।
राजधानी बेइजिङमा आयोजित कार्यक्रममा वैश्विक उर्जा अन्तरजडान विकास तथा सहयोग संस्थाले यी मापदण्डहरू घोषणा गरेको हो । मापदण्डहरूमा हावा, घाम र पम्प गरिएको पानीबाट तयार हुने उर्जा प्रणालीको योजना कसरी बनाउने, स्रोतको मूल्याङ्कन कसरी गर्ने, उपकरणहरूको जाँच र परीक्षण कसरी गर्ने तथा एक देशबाट अर्को देशसम्म विद्युत् सञ्जाल कसरी विस्तार गर्ने भन्ने विषय समेटिएका छन् ।
संस्थाका अध्यक्ष श्री सिन बाओआनले यी मापदण्डहरू चीनसहित विभिन्न देशहरूमा गरिएको अनुसन्धान र सफल अभ्यासहरूको आधारमा तयार गरिएको जानकारी दिए । उनले भने, यी मापदण्डहरूले स्वच्छ उर्जा विकासलाई तीव्र बनाउने र अन्तरदेशीय सञ्जाल विस्तारमा नयाँ ढोका खोल्ने छन्।
चीनको बजार व्यवस्थापन निकायका प्रमुख श्री सियाओ हानले एउटै मापदण्डको प्रयोगले प्राविधिक अवरोध हटाउने, काम गर्ने प्रक्रिया सरल बनाउने र उर्जा आदानप्रदानलाई प्रभावकारी बनाउने उल्लेख गरे।
मलावीका चीनस्थित राजदूत श्री एलन चिन्टेढ्जाले मापदण्डको प्रभाव विशेषगरी विकासोन्मुख देशहरूमा अझ बढी हुने बताए। उनले भने, यसले उर्जा विस्तारको लागत घटाउने, काम गर्ने गति बढाउने र उद्योगधन्दा विकासमा सहयोग पुर्याउनेछ।
कार्यक्रममा करिब ३० वटा देश तथा संस्थाका प्रतिनिधिहरू र तीन सयभन्दा बढी उर्जा विज्ञहरूको सहभागिता थियो।
वैश्विक उर्जा अन्तरजडान विकास तथा सहयोग संस्था चीनमा स्थापना गरिएको एक गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था हो, जसमा १४३ देशका १,३९० सदस्य छन्। संस्था उर्जा, यातायात, मौसम, प्रविधि, वित्त र अनुसन्धानका विभिन्न क्षेत्रमा क्रियाशील छ।
प्रतिक्रिया