सोमबार, असार १६, २०८२

पर्सामा पोषण पूरकमा पाँच गुणाभन्दा बढी असुल्ने पक्राउ

नेपालखोज २०८२ असार १६ गते २१:३४

वीरगञ्ज । पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

सीमावर्ती बजार रक्सौलबाट फुड सप्लिमेन्ट औषधि खरिद गरेर वीरगञ्जमा जभाभावी मूल्य राखेर प्याकिङ तथा बेचबिखन गर्दै आएका वीरगञ्ज महानगर–२६ का जितेन्द्रप्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले २१ थरिका विभिन्न फुड सप्लिमेन्ट औषधि कालोबजारी गरेको अभियोगमा कुर्मीलाई पक्राउ गरेर कालोबजारीअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

‘भारतबाट सस्तो मूल्यमा खरिद गरी नेपाल भित्र्याई उक्त औषधिहरूको बट्टामा आफुखुसी मूल्य राखेर बेचबिखन गरेको सूचनाका आधारमा पक्राउ गरेका हौँ’, उनले भने । कुर्मीबाट करिब रु २५ लाख मूल्य पर्ने औषधि बरामद गरेको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया