फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

तानसेन (पाल्पा) । केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरु देखिन छाडेका हुन् ।
खोला तथा सिमसार क्षेत्रका खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउँदै आएका बकुल्लाहरु सिमसार मासिँदै गएपछि देखिन छाडेका स्थानीय बताउँछन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायतले सिमसार क्षेत्र मासिँदै गएका छन् ।
बर, पिपल, समी, सिमल जस्ता अग्ला रुखहरुमा सेताम्ये देखिने बकुल्लाहरु एकाएक हराउँदै गएको दमकडाका प्रकाश नेपाल बताउँछन् । बकुल्लाले पानीभित्र माछा तथा चिस्यानमा बस्ने भ्यागुता, गङ्गटा, सानासाना सर्प शिकार गर्छन् ।
हिजो आज खोला र सिमसारहरु मासिँदै जाँदा तिनीहरु पनि हराउँदै गएको उहाँको भनाइ छ । “पहिले–पहिले यहाँका सिमलका रुखहरु कुनै खाली हुँदैन थिए ।
सबैमा सेताम्य बास बसेको देखिन्थ्यो । सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्ला जस्ता जलपन्छी वर्सेनि घट्दै गएको चराको अध्ययनमा जुट्नुभएका विष्णु अधिकारीले बताए ।
खोला र सिमसार क्षेत्रको विनासले माछाहरु मर्दै जाँदा आहारमा कमी आएकाले जलपन्छी वर्सेनि घट्दै गएको उनको भनाइ छ । उनले भने, ‘वासस्थान विनाश र आहार नहुनु नै बकुल्ला घट्नुको मुख्य कारण हो ।’ संरक्षणको पहल भएन भने अबको केही वर्षमा जलपन्छीहरू पूर्णरूपमा लोप हुने उनले बताए । -रासस
प्रतिक्रिया