‘विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौं महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताएका छन् ।
यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उनले यस्ता प्रदर्शनीले विद्यार्थीका कला प्रस्तुत गर्नुका साथै उनीहरूलाई भविष्यमा नयाँनयाँ कला सृजना गर्न प्रोत्साहित गर्ने धारणा राखे ।
उनले महानगरभित्रका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थीका कला प्रदर्शनीमा राखिएका जनाउँदै सृजना आकर्षक, संस्कृति तथा सम्पदाको संरक्षणमा केन्द्रित रहेका प्रतिक्रिया दिए ।
शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एण्ड स्कप्चर’ ढाँचाको तालिम कार्यक्रमपछि विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको यहाँ प्रदर्शन गरिएको हो । सो क्रममा उपप्रमुख डङ्गोलले भने, पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै प्रगति भएको मैले पाएँ । सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस्, यसले विद्यार्थीलाई प्रेरित गरेको महसुस गरेँ ।
यसैबीच उनले उक्त प्रदर्शनीको आजै समापनसमेत गरे । समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सीपसँग जोड्दा सृजनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग पुगेको विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सीप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एण्ड स्कप्चर’ तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सृजनशील व्यक्तित्व निर्माण गर्न कलाको महत्त्वपूर्ण योगदान रहने उल्लेख गरे ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कार्यक्रममा महानगरका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रदर्शनी उत्साहजनक रहेको धारणा राखे । उनले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको पनि काम गर्ने बताए ।
प्रतिक्रिया