शनिबार, जेठ ५, २०८१

भिजेको मास्क लगाउन हुन्छ ?

प्रनिशा अधिकारी २०७८ असार १८ गते ९:५७

काठमाडौं । कतै तपाईंले च्यातिएको अथवा भिजेको मास्क त प्रयोग गरिरहनुभएको छैन ? यदि छ भने के तपाईंले जुन प्रयोजनका लागि मास्क प्रयोग गरिरहनुभएको छ, त्यसको उद्देश्य पूरा भएको छ त ? अर्थात् च्यातिएको मास्क लगाउन मिल्छ ?

मनसुन सुरु भयो । अब तपाईं घरबाहिर निस्किँदा तपाईं भिज्ने सम्भावना धेरै हुन्छ । तपाईंसँगै तपाईंले कोरोनाको महामारीबाट बच्न लगाएको मास्क पनि भिज्ने सम्भावना उत्ति नै रहन्छ । भिजेको मास्क लगाउँदा त्यसले काम गर्छ ? अथवा तपाईंलाई भिजेको मास्कले कोरोनाको महामारीबाट बचाउँछ ?

यी दुवै समस्या अहिले तपाईंले सामना गरिरहेको अथवा गर्नुपर्ने हुन्छ । त्यसैले यसबारे जान्नु पनि जरुरी छ । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी के भन्छन् त । उनी मनसुन सुरु भएसँगै मास्क लगाउँदा यसलाई पानीबाट जोगाउनुपर्ने बताउँछन् । अर्थात् पानीले भिजेको मास्कले कोरोना महामारीबाट हामीलाई बचाउँदैन । उनका अनुसार पानीले मास्क भिजेपछि मास्कको गुणस्तर खस्किने भएकाले त्यसले कोरोना भाइरसलाई छेक्न सक्दैन ।

‘भिजेको मास्कले काम गर्दैन । यदि मास्क भिजेको छ भने त्यसले कोरोना भाइरसलाई नाक तथा मुखमा जानबाट छेक्न सक्दैन,’ डा. सुवेदी भन्छन्, ‘त्यसैले भिजेको मास्क लगाउनु र नलगाउनुको अर्थ हुँदैन । मास्क भिजेपछि त्यसले कोरोना भाइरसलाई भित्र जानबाट छेक्न नसक्ने भएकाले भिजेको मास्क प्रयोग गर्नु हुँदैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भिजेको मास्कको भर नपर्न आग्रह गरेको छ । ‘वर्षायाममा कोरोनाबाट अझ सजग होऔं, भिजेको मास्कको भर नपरौं,’ मन्त्रालयले भनेको छ, ‘वर्षायाममा अत्यावश्यक कामका लागि निस्कँदा मास्क भिज्ने र ओसिलो हुने समस्या हुन सक्छ ।’

भिजेको मास्कबाट सास फेर्न असहज र हानिकारक हुने मात्र नभई यसले भाइरसलाई पनि छेक्न नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

घरबाहिर निस्कँदा सकेसम्म पानीले नभिज्ने झोलामा अतिरिक्त मास्क बोक्ने बानी बसाल्नुपर्नेमा मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ ।

डा. सुवेदी च्यातिन लागेको र झुत्रो परेको मास्कले पनि काम नगर्ने बताउँछन् । झुत्रो परेको मास्कमा रहेका छिद्रले भाइरस छेक्न नसक्ने भएकाले यसले संक्रमण नरोक्ने उनको भनाइ छ ।

‘झुत्रो परेको मास्कमा देखिने छिद्रबाट मुख र नाकमा सहजै भाइरस छिर्ने भएकाले मास्क झुत्रो भएको छ अथवा छैन भन्नेमा पनि ख्याल गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यदि कोरोना संक्रमणबाट बच्ने हो भने छिद्र परिसकेको मास्कको प्रयोग नगर्न नगराउन उनको सुझाव छ ।

मास्क पुनः प्रयोग गर्न सकिन्छ ?
मास्कको पुनः प्रयोग गर्न सकिने डा. सुवेदी बताउँछन् । एकपटक प्रयोग गसरसकेको मास्क ३∕४ दिन बिराएर प्रयोग गर्न सकिने तर त्यस्ता मास्क सफा गुणस्तर हुनुपर्ने र ओसिलो हुन नहुने उनको भनाइ छ ।

‘मास्क पुनः प्रयोगमा ल्याउन सकिन्छ । तर, त्यस्तो मास्क नच्यातिएको र गुणस्तरको हुनुपर्छ,’ उनी भन्छन्, ‘एकपटक प्रयोग गरिसकेका मास्क सकेसम्म बीच भागमा नसमाइ छेउछेउमा समाएर सुरक्षित ठाउँमा झुन्ड्याएर एक-दुई दिनपछि प्रयोग गर्न सकिन्छ ।’ अन्यथा मास्कले काम नगर्ने र संक्रमणको जोखिम बढ्ने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कम भइनसकेको भन्दै घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन भनेको छ ।

वर्षाको समयमा खेतबारीमा काम गर्दा पनि मास्क अनिवार्य प्रयोग गर्न, दुई मिटरको दूरी कायम गर्न आग्रह गर्दै आएको छ । अन्यथा नागरिकको लापरबाही नै संक्रमणको अवस्था भयावह बन्ने कारण बन्ने भन्दै सचेत गराउँदै आएको छ ।

पानी परेको समयमा वा पानीमा काम गर्दा झोलामा अतिरिक्त मास्कको प्रयोग गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोरोना संक्रमणको तेस्रो चरणको लहर आउन सक्ने भन्दै मन्त्रालयले केही समय पहिलाबाटै सचेत गराइसकेको छ ।

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया