युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण, कूटनीतिक समाधानको सम्भावना न्यून

किभ, युक्रेन । रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ ।
उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि सुरु भएको हो । राजधानी किभ लगायत युक्रेनका विभिन्न सहरहरूमा रातभरि ड्रोनको गुन्जन र विस्फोटहरूको आवाज सुनिएको थियो, जसमा युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा परिचालित रहेको जानकारी प्राप्त भएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातासँग कुराकानी गर्दै भने, हामी हाम्रो उद्देश्यहरू हासिल गर्न विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेका छौं, तर त्यसलाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नु अझ उपयुक्त हुनेछ ।
यद्यपि उनले वर्तमान अवस्थामा कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट गरे । राष्ट्रपति ट्रम्पले एक दिनअघि राष्ट्रपति पुटिनसँग भएको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिएका छन् । युक्रेनी अधिकारीका अनुसार ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो ।
किभका बासिन्दा तिमुरले उक्त आक्रमणलाई विगतका घटनाहरूभन्दा निकै फरक र भयावह भएको बताउँदै भने, यसअघि कहिल्यै यति धेरै विस्फोटहरू एकसाथ भएको थाहा थिएन । राष्ट्रपति जेलन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने,रूसले फेरि एकपटक प्रमाणित गरेको छ कि उसले युद्ध र आतंकको अन्त्य गर्ने कुनै तयारी गरेको छैन । यदि अन्तर्राष्ट्रिय समुदायबाट ठोस र ठुलो दबाब नपरेसम्म, रूसको विनाशकारी व्यवहारमा परिवर्तन आउन गाह्रो देखिन्छ ।
रूसी सेनाले डोनेत्स्क क्षेत्रमा रहेको एक गाउँ नियन्त्रणमा लिएको दाबी गरेसँगै युक्रेनी भूभागमा थप दबाब सिर्जना भएको देखिन्छ । आक्रमणको क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ ।
प्रतिक्रिया