शनिबार, असार २१, २०८२

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

नेपालखोज २०८२ असार २१ गते ५:४९

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन् । यसवर्ष तीन बिघाहमा लगाएको धान उनले अझै बिक्री गर्न सकेका छैनन् । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन ।

सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन ।

गत वर्ष प्रतिक्विन्टल रु तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउँछन् । ‘गतवर्ष मैले नै रु तीन हजार ८०० प्रतिक्विन्टल चैते धान बिक्री गरेको थिए ।’ उनले भने, ‘यसवर्ष त्यहीँ धान बिक्री गर्नका लागि व्यापारीसँग हारगुहार किसानले गरिरहेका छन् ।’ उनका अनुसार कैयौँ किसानले उदारोमा पनि धान व्यापारीलाई दिएका छन् । पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेलको डल्लु बताउँछन् ।

भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उदारोमा जबरजस्ती व्यापारीका जिम्मा लगाउनुपरेको गुनासो गरे । उनले नगदमा उत्पादन गरेको वस्तु उदारोमा बेच्नु पर्ने बाध्यता आइपरेको बताए । भजनीमा यसवर्ष झण्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती भएको थियो । उत्पादनका हिसाबले किसानमा वर्षेनी आकर्षण बढ्दै गएको भए पनि बजारीकरणले सधैँ धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ ।

उनले गतवर्ष धानको राम्रो रेट पाएपछि यसवर्ष दुई बिघाह बिस्तार गरेको बताउँदै अहिले त्यो विस्तार गरेकोमा पछुतो लाग्न थालेको बताए । ‘उत्पादन राम्रो भएका कारण किसानको आकर्षण बढ्दै गएको छ ।’ उनले भने, ‘उत्पादन भएको धान बिक्रीका लागि हुने समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना देखिएको छ ।’

वर्षात सुरु भइसकेका कारण किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ । बाढी र डुवानको उच्च जोखिममा रहेको भजनी सामान्य वर्षामा डुवानमा पर्छ । डुवान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ ।

कैयौँ किसानले उत्पादन गरेको धान आज पनि हुलाकी सडकमै छ । घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान घर नलिएर व्यापारी खोजिरहेका छन् । किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन् ।

उनले धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि आग्रह गर्नुभयो । भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ । धान जोनका कारण यसवर्ष भजनीमा चैत धान विस्तार विगतको भन्दा बढेको थियो । -रासस

प्रतिक्रिया