दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण

काठमाडौं । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनीका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ ।
साहित्यिक पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा राससका पूर्वअध्यक्ष एवं साहित्यकार दाहाल र उनका छोराद्वारा लिखित कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।
मिलाप पब्लिकेशन प्रालिले प्रकाशन गरेको यस कविता सङ्ग्रहमा पहिलो खण्डमा बाबुका १७ र दोस्रो खण्डमा छोराका १३ कविता समेटिएका छन् । यी कविता गद्य र मुक्त छन्दमा लेखिएका छन् ।
पत्रकार दाहालले व्यस्तता समयका बीच केही समय बचत गरेर यी कविता सृजना गरिएका भन्दै यस सङ्ग्रहको शीर्षकले बाबुछोरालाई साहित्य सिर्जनासँग जोडिएको प्रसङ्ग सुनाए । छोरा अनिभेषसँग अमेरिका बसाइँका क्रममा आफूले रचना गरेका कविता यस सङ्ग्रहमा समेटिएको उनले जानकारी दिए । कविता र कथा कुनै निश्चित समयका लागि मात्र नलेखिने भन्दै दाहालले साहित्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
रचनाकार अनिमेषले प्रवासबाट साहित्य क्षेत्रमा कलम चलाउँदै आए। यस कविता सङ्ग्रहमा रचनाकारद्वयले राजनीतिक व्यङ्ग्य, समाजको चित्रण र प्रकृति चिन्तन गरेको कार्यक्रममा उपस्थित समीक्षकले बताएका छन् । साहित्यकार तथा पत्रकार विनोद दाहाल र खेमनाथ दाहाललगायतले कविता सङ्ग्रहबारे चर्चा गरे ।
प्रतिक्रिया