शनिबार, असार २१, २०८२

पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर’

नेपालखोज २०८२ असार २१ गते २०:३४

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तीनखोले मन्दिर अवस्थित छ । शक्तिपीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाकल गर्नेहरूको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ ।

तीनखोले देवी भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि विभिन्न जिल्लाबाट धार्मिक पर्यटकक आउने गरेका हुन् । तीन वर्षअघि मन्दिर जाने बाटो साँघुरो, जीर्ण र हिलाम्मे हुँदा यात्रीले कठिन र जोखिमपूर्ण यात्रा गर्दथे । अहिले यहाँ पुग्ने पूर्वाधारसहित सडक निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको शुक्लागण्डकी नगरपालिका–६ का जय पाण्डेले बताउनुभयो ।

पर्यटकीय सम्भावना बोकेको यस मन्दिरको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले लगानी गरी पूर्वाधार विकासले तिव्रता पाएसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ ।

पक्की नालासहितका सडक स्तरोन्नति र कालोपत्र गरेपछि अहिले मन्दिर आवतजावतमा सहज हुनुका साथै धार्मिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको शुुक्लागण्डकी-६ मा तीन वर्षअघि झाँगाझोली भिलेज रिर्सोट सञ्चालन गर्दै आएकाे उज्वल पौडेलले बताए । यहाँ रिर्सोट सञ्चालनमा आएसँगै आगन्तुकलाई बस्न, खान समस्या नरहेको उनको भनाइ छ ।

सडक विस्तार, रिर्सोट सञ्चालनलगायत पूर्वाधार विकासले धार्मिकस्थल तीनखोले मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको पौडेलले बताउनुभयो । उहाँका अनुसार रिर्सोट र मन्दिर पर्यटकका लागि एकापसमा पर्यायबाची जस्तै बनेका छन् ।

पृथ्वीराजमार्गको खैरेनीटारबाट साढे दुई किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीबाट तीनखोले मन्दिर पुग्न करीब पाँच किमी यात्रा गर्नुपर्छ । तीन जना व्यक्तिको लगानीमा सञ्चालित यो रिर्सोट करिब बीस रोपनी क्षेत्रफलमा दुई करोड रुपैयाँ बढी लगानीमा निर्माण गरिएको रिर्सोट सञ्चालन पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ पर्यटकीय दृष्टिकोणले आकर्षण र मनमोहक भौतिक संरचना बनाइएको छ ।

रिर्सोट नजिकै भएर बग्ने कुम्लेखोलामा ड्याम बनाएर सुन्दर ताल निर्माण गरी ढुङ्गा सञ्चालनमा ल्याउने योजना रहेको पौडेलले बताए । उनका अनुसार सिन्धुली जिल्लामा रहेको झाँगाझोलीको झल्को दिनेगरी तनहुँको शुक्लागण्डकीमा झाँगाझोलीको अवधारणका साथ रिर्सोट सञ्चालनमा ल्याइएको हो ।

यहाँको प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर र झाँगाझोली रिर्सोटले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शुक्लागण्डकी–६ का पाण्डेले बताए ।

झाँगाझोली रिर्सोट सञ्चालनमा आउनुअघि दरगाउँ क्षेत्रका बासिन्दा एक्लै हिड्न डराउँथे, जङ्गलको बाटो भएर हिड्नुपर्दा, वनमा घाँस, दाउँरा लिन जाँदा समूहमा जानुपर्ने बाध्यता थियो ।

सडक डिभिजन कार्यालयबाट रु एक करोड बजेट विनियोजन भएपछि तीनखोले मार्गको खैरेनीटार–झाँगाझोली खण्डमा सडक स्तरोन्नतिका साथै कालोपत्र गरेसँगै विकासले फड्को मार्नुका साथै पर्यटकलाई आवागमनमा सहज भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सहरी विकास मन्त्रालयबाट झागाझोली-दरगाउँ सडक स्तरोन्नतिका ३५ लाख रुपैयाँ, आव २०८१/८२ मा ५० लाख रुपैयाँ बजेट विनियोजन पश्चात् निर्माण सम्पन्न गरिएको छ ।

आगामी आव २०८२/८३ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको झाँगाझोली भिलेज रिसोर्ट प्रालिका प्रबन्धक निर्देशक शङ्करप्रसाद अधिकारीले जानकारी दिए । तीनखोले मार्ग र झाँगाझोली-दरगाउँ सडक मार्गलाई सङ्घीय सरकारले उच्च प्राथमिकता दिँदै आएपछि स्थानीय हर्षित भएका छन् ।

झाँगाझोली प्राकृतिक सुुन्दरताले भरिपूर्ण मानिन्छ । वरिपरि हरियो घनाजङ्गल, सङ्लो कुुम्ले खोलाको सुुसेली, दरगाउँस्थित कोट मन्दिर, नजिकै रहेको घुमाउने झरना, विभिन्न प्रजातिका चराचुुरुङ्गीको बासस्थान, प्रसिद्ध तीनखोलेदेवी मन्दिर, झाँगाझोली क्षेत्रमा स्थापित विभिन्न मठमन्दिरले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित गराएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० हजार बढी पर्यटकले झाँगाझोली अवलोकन गरिसकेका प्रबन्धक निर्देशक अधिकारीले जानकारी दिए ।

मन्दिरमा आउने पर्यटकको आवागमन बढ्दै जान थालेपछि रात्रिकालीन बसाइँका लागि झाँगाझोली भिलेज रिसोर्टले आरामदायी बासको व्यवस्था गरेको अधिकारीको भनाइ छ । एक पटकमा ४०-५० जनासम्मलाई सेवा दिन सकिने रिसोर्टले जनाएको छ ।

विभिन्न जातका फलफूूलको बँगैचा, सयौँ प्रजातिका जडिबुटी उद्यान, विभिन्न जातजातिले प्रयोग गर्ने लोपोमुख सामाग्रीहरूसहितको सङ्ग्रहालय, प्रदर्शनी तथा बिक्री कक्ष, सातवटै प्रदेशका विशिष्टिकृत सामग्रीको प्रदर्शनी, प्रादेशिक कोसेली घर, विभिन्न प्रजातिका रुखविरुवा, धार्मिक महत्त्वका मठमन्दिर झाँगाझोलीका विशेषता हुन् ।

झाँगाझोलीस्थित सिन्धुली–सुनकोशी गाउँपालिका निवासी ९० वर्षीया गौरादेवी दाहालको नामबाट निर्मित गौरादेवी नेचुरल हर्वल पार्क पनि आकर्षक गन्तव्य बनेको छ । विभिन्न किसिमका जडिबुटीबारे अध्ययन, अनुसन्धान गर्नेहरूका लागि यो अध्ययन केन्द्र बनेको छ ।

पछिल्ला केही वर्षयता तीनखोले मन्दिर र झाँगाझोली पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा बनेको शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धि थापाले बताए ।

खैरेनीटारबाट तीनखोले मन्दिरसम्मको सात किमी सडकमध्ये करिब पाँच सय मिटरबाहेक ढलान र कालोपत्र गरी यातायातमा सहज बनाइएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताए । रासस

प्रतिक्रिया