मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम

पर्सा । मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् ।
नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताए ।
वीरगञ्जको चोकचोकबाट मुस्लिम समुदायले नेपालको राष्ट्रिय झण्डा तथा आफ्नो कला, संस्कृति झल्किने झण्डासहित उपस्थित भएका छन् । यस्तै, मुस्लिम युवाले घण्टाघर चोकमा घोडा सवार गरेर पनि थप मनोरञ्जन गराएका थिए ।
इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो पर्व एकदेखि १० तारिखसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाइने चलन छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउनका लागि अनुरोध गर्नुभयो । यहाँ बिहानैदेखि मुख्यमुख्य चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
प्रतिक्रिया