निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड (झापा) । एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ ।
राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिए । उनका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो । हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ ।
गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुनिलबाबु पन्तले जानकारी दिए । उनका अनुसार डाइभर्सन मर्मतपछि निर्माण सुचारु गरिएको हो ।
पन्ध्र मिटर लम्बाइ र छ दशमलव पाँच मिटर उचाइ रहेको यो क्रसिङ संरचनाको निर्माण लागत तीन करोड ३९ लाख ५८ हजार रहेको छ । हालसम्म रु एक करोड ५२ लाख बराबरको काम सम्पन्न भइसकेको छ, उनले भने ।
चाराली क्षेत्र वरिपरि रहेका सामुदायिक वन, नेपाली सेनाको वन संरक्षण इकाइ र खुला सिमाना भएर भारततर्फबाट आउने जङ्गली जनावरहरूको आवागमनका कारण यो क्षेत्र वन्यजन्तु–मानव द्वन्द्वको उच्च जोखिममा परेको छ ।
पछिल्ला केही वर्षयता हात्ती, चितुवा र बाघको आक्रमणबाट ३० जनाको ज्यान गइसकेको इञ्जिनीयर पन्तले उल्लेख गरे । उनका अनुसार हात्तीको आक्रमणबाट मात्रै झापा र मोरङका बस्तीमा ठूलो जनधनको क्षति पुगेको छ ।
जिल्लास्थित डिभिजन वन कार्यालयका अधिकृत ऋषि तिम्सिनाका अनुसार मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रमा बाँदर र हात्तीको समस्या रहँदै आएको छ भने उत्तरी झापामा चितुवा र बाघको आतङ्क देखिएको छ ।
प्रतिक्रिया