दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडाैं । नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिएका छन् ।
महिला ६८ केजीमाथि कराते महासङ्घबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए ।
प्रदीप बैजाली मगरले यु-२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक-एक स्वर्ण तथा टिम कुमुतेमा रजत जिते । नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।
श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बनेको छ । भारतले २३ स्वर्ण, २४ रजत र १२ कास्य जित्यो । तेस्रो स्थानको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कास्य हात पार्यो भने तीन स्वर्ण, सात रजत र १४ कास्य जितेको बङ्गलादेश चौथो भयो । छ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत, सात कास्यका साथ पाँचौँ र एक रजत, एक कास्यका साथ भुटान छैटौँ भएको हो ।
प्रतिक्रिया