आइतबार, असार २२, २०८२

मधेस प्रदेशसभा बैठक स्थगित

नेपालखोज २०८२ असार २२ गते २०:५६

जनकपुर । मधेस प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले सभा बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

जसपा नेपालका रामअशीष यादवले सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको दाबी गरे । उनले मुख्यमन्त्री सिंहको बुवाले २० वर्षअघि बनाएको भवनको भुक्तानी गर्ने गरी बजेट ल्याइएको, डिपीआरमा करोडौँ रकम विनियोजन गरिएको भन्दै असहमति जनाए ।

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिस पटेलले बजेट असमान रहेको बताए । उनले सदनमा रहेका विपक्षी दल मात्र नभई सत्तापक्ष र सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्षसमेतले बजेटको विरोध जनाइसकेको बताए ।

नेकपा (माओवादी केन्द्र)का उपनेता युवराज भट्टराईले बजेट पुनःलेखनको माग गरे । प्रमुख प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरे । -रासस

प्रतिक्रिया