कुलिङ अफ पिरियड प्रकरणको छानविन गर्न कांग्रेसलाई नै दिँदा प्रश्न उठ्ने तर्फ सभामुखकाे ध्यानाकर्षण

नेपालखोज २०८२ असार २३ गते १७:२९

काठमाडाैं । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कुलिङ अफ पिरियड प्रकरणको छानविन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले कांग्रेसकै सांसद रहेको सभापतिमाथि छानविन गर्न बनेको समितिको संयोजक कांग्रेसलाई दिदा प्रश्न उठ्न सक्ने तर्फ सभामुखको समेत ध्यानाकर्षण गराएको बताए ।

छानविन समितिको नेतृत्व नगर्न रास्वपाले दिएको सुझावलाई गम्भीर रुपमा नलिएको उनले बताए । परियारले रास्वपा निर्णायक शक्ति नभएकाले गलत कुराहरुलाई रोक्न नसकिएको धारणा राखे ।

उनले कुलिङ अफ पिरियड प्रकरणको छानविनका लागि राज्य व्यवस्था समितिका सभापतिले राजीनामा दिनुपर्ने सुझाव समेत कार्यव्यवस्था परामर्श समितिमा दिएको जानकारी दिए ।

परियारले छानविन समितिको नेतृत्वको बिषयमा असहमति हुँदाहुँदै पनि संसदमा भएका गलत कामलाई रोक्नका लागि पार्टीबाट छानविन समितिमा सदस्य पठाएको बताए ।

उनले सार्वभौम संसद बनाएको कानूनलाई कुनै अमुक व्यक्ति वा संस्थाबाट प्रभावित भएर परिवर्तन गर्ने जस्तो कुरा अव उपरान्त कहिले पनि नहुने गरि बिशेष छानविन समितिले काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया