वीरगञ्जमा खानेपानीको हाहाकार

नेपालखोज २०८२ असार २४ गते १२:३५

वीरगञ्ज । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ । वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको सङ्ख्या दैनिक एक सय भन्दा बढी छन् ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरिनै खानेपानीको अभाव देखिएको जानकारी दिए । ‘यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको सङ्ख्या बढेको छ,’ उनले भने ।

वीरगञ्ज महानगर-१३ श्रीपुरका अब्दुल अहमदले खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको गुनासो गरे । ‘महानगर क्षेत्रमा खानेपानीको चर्को अभाव झेल्दै आइरहेका छौँ,’ उनले भने, ‘विगत तीन वर्षदेखि यहाँ खानेपानीको हाहाकार भइरहेको छ ।’

उनले खानेपानीमन्त्री यही जिल्लाबाट प्रतिनिधित्व गर्ने भए पनि समस्या समाधान गर्न नसकेको दुखेसो पोखे । वीरगञ्ज महानगर-२६ का वडाध्यक्ष शम्भु मिश्र पनि वडामा रहेका ९० प्रतिशत बढी चापाकल सुकेको बताए । ‘पानीको अभाव भन्दै सर्वसाधारणले गुनासो धेरै आइसक्यो,’ उनले भने, ‘वडा कार्यालयकै पहलमा यही वर्ष दुईवटा बोरिङ खनेर पानी वितरण गरेका छौँ । तर, पर्याप्त छैन ।”

वडाध्यक्ष मिश्रले वडासँग सीमित स्रोतसाधन भएकाले जनताको आवश्यकताअनुसार ‘बोरिङ’ खन्न नसकिरहेको गुनासो गरे ।

वीरगञ्ज महानगरका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जमिनमुनिको भूमिगत पानीको सतह घटेसँगै अधिकांश चापाकाल सुक्खायाममा सुक्ने गरेको बताए ।

वीरगञ्ज महानगरका अनुसार अहिले यहाँको वडा नं १, २, ११, १३, १६, २५, २६ लगायतका स्थानमा पानीको अभाव छ । शाखा प्रमुख साहले चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरले प्रदेश सरकारसँग समन्वय गरेर ७५ स्थानभन्दा धेरै ठाउँमा ‘डिप बोरिङ’ मार्फत पानी उपलब्ध गराउँदै आएको छ । खानेपानी संस्थानले दैनिक करिब एक करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ । तर, संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको बताइन्छ ।

शाखाका कार्यालय प्रमुख साहले पाइपलाइनको संरचनाको कारणले पनि अपेक्षाकृत ढङ्गले खानेपानी विस्तार गर्न नसकेको स्वीकार्नुभयो । चालु आवमा मात्रै यहाँका करिब ६०० सर्वसाधारणले नयाँ धारा जडानको माग गरेका छन् । ३५० भन्दा धेरै खानेपानीको लाइन जडानको पर्खाइमा छन् । खानेपानी संस्थानका महानगरभित्र १२ हजार ग्राहक छन् । वडा कार्यालयको सिफारिसमा संस्थानले रु छ हजार ३७० लिएर नयाँ धारा जडान गर्दै आएको छ । रासस

प्रतिक्रिया