भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा धनजनको क्षति

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा धनजनको क्षति भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले रसुवा विपद्का घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए । मन्त्री लेखकले बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।
हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २ वटा पुरुषको शव फेला परेको उहाले बताए । मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्दार गरिएको जानकारी दिए । नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको उहाले बताए ।
उनले सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको उल्लेख गरे । उनले बिपद्का घटनामा परेका नागरिकका परिवारलाई उचित राहत प्रदान गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया