सोमबार, पुष ७, २०८२

महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद : एन्फा

नेपालखोज २०८२ असार २५ गते २०:३४

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद भएको जनाएको छ ।

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढंगले अघि बढ्दा विवाद भएको जनाएका हुन् ।

टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले काठमाडौंमा नै खेलाडी विदाई कार्यक्रममा नै टीम कप्तान चयन गर्न प्रस्ताव गर्दा प्याट्रिकले असहमति जनाएको बताए ।

उनले एएफसी एसियन कप छनोटको पहिलो खेलको केहि समय अघि समेत कप्तानसहितको टिम लिस्ट नआएपछि आफुहरुले पटक पटक आग्रह गर्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट आएको जिकिर गरे ।

तर त्यसमा कप्तानको नाम नभएकाले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीको नाम राखेर लिस्ट एएफसीलाई पठाएको उनले बताए ।

त्यसपछि आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले रोकेर साम्बा कप्तान भएको जानकारी गराएको श्रेष्ठले बताए । उनले साम्बालाई कप्तान बनाउँदा आफुहरुलाई कुनै आपत्ति नहुने भएपनि प्रशिक्षक प्याट्रिकले किन त्यस्तो गरे भन्न बुझ्न नसकेको धारणा राखे ।

उनले प्रशिक्षक प्याट्रिक नेपाल फर्कने वा नफर्कने भन्ने बारेमा अनविज्ञ रहेको बताए । नेपाली टीमका व्यवस्थापकसंग प्याट्रिकले आफ्नो पारिश्रमिक माग्नका लागि भनिदिन समेत आग्रह गर्ने गरेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया