विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

नेपालखोज २०८२ असार २६ गते १२:४९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मंगलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

इप्पानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको हो ।

बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । इप्पानका अनुसार उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएका छन् ।

इप्पानका अध्यक्ष गणेश कार्कीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाटको त्रिशूली-३ ए जलविद्युत्, २५ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत्, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको बताए ।

‘यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हव सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो,’ उनले भने, ‘देवीघाट, त्रिशूली र त्रिशूली-३ ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् ।’

उनका अनुसार निर्माणाधीन आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली-३ बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।

त्रिशूली-३ बी सवस्टेशन र प्रसारणलाइनमा क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया