कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट १३ लाख ५० हजार आम्दानी गरेका छन् ।
पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आउनुभएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् । फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरेका छन् ।
कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उनले बताए । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ ।
बिरुवा उत्पादन गर्न खासै धेरै मेहेनत र समय पनि लाग्दैन, उनले भने, यहाँ उत्पादित बिरुवा इलाम तथा बाहिरसमेत जाने गरेको छ । कफीको बिरुवा प्रतिगोटा रु ३० का दरले नर्सरीबाटै बिक्री भएको उनले बताए ।
राईले नर्सरीमा कफीमात्र होइन, अरु वनपैदावार बिरुवासमेत उत्पादन गर्दै आएका छन् । उनको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वनपैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुँदै आएको छ । वनपैदावार र फलफूलको बिरुवा प्रतिगोटा रु ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको उनले बताए ।
कफीको बिरुवालाई पहिलो प्राथमिकता दिएको छु । अन्य वनपैदावार र फलफूलका बिरुवा पनि छन्, उनले भने, एकै ठाउँमा आफूलाई चाहिएको जति बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सजिलो भएको छ ।

प्रतिक्रिया