‘युरोपेली हितको रक्षा गर्न’ वार्ता केन्द्रित हुनुपर्ने राष्ट्रपति म्याक्रोँको भनाइ

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ३० प्रतिशत कर लगाउने चेतावनीको विरोध गर्दै युरोपेली हितको दृढतापूर्वक रक्षा गर्न इयूको वार्ता समूहलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घमाथि अगष्ट १ देखि लागू हुने गरी ३० प्रतिशत कर वृद्धि हुने चेतावनी दिएका छन् ।
उक्त घोषणाप्रति फ्रान्सको ‘कडा असहमति’ व्यक्त गर्दै म्याक्रोँले अगष्ट १ सम्ममा दुवै पक्ष सहमतिमा पुग्न असफल भएमा ‘सबै उपकरण परिचालन गरेर विश्वसनीय प्रतिकारको तयारीलाई तीव्रता दिन’ आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, अगष्ट १ सम्ममा पारस्परिक रूपमा स्वीकार्य सम्झौतामा पुग्न तीव्र हुने वार्तामा फ्रान्सले युरोपेली आयोगलाई पूर्ण समर्थन गर्दछ ।
यसले युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाजस्ता व्यापारिक साझेदारहरूले एकअर्काप्रति गर्नुपर्ने सम्मानलाई प्रतिबिम्बित गर्दछ । यसअघि शनिबार युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पले अगस्ट १ देखि लागु गर्ने भनिएको नयाँ करको सम्बन्धमा आलोचना गरेका थिए । युरोपेली आयोगकी प्रमुख भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, इयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसाय, उपभोक्ता र बिरामीलाई हानि पुग्ने गरी आवश्यक ट्रान्साटलान्टिक आपूर्ति श्रृङ्खलामा खलल पुग्नेछ ।
उनले भने, हामी अगष्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार छौं । साथै, हामी इयूको हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं, जसमा आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय अपनाउने उपाय पनि समावेश छ । युरोपेली सङ्घ र अन्य दर्जनौं अर्थतन्त्रमाथि बुधबारदेखि अमेरिकी करको स्तर १० प्रतिशतको आधार रेखाबाट वृद्धि गर्ने तयारी गरिएको थियो तर ट्रम्पले शनिबार यो समय सीमालाई अगस्ट १ सम्मका लागि पछाडि सारेका थिए ।

प्रतिक्रिया