भ्रष्टाचार र कुशासनको सडक र सदनबाट प्रतिवाद गर्छौं : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकका प्रारम्भमा उनले मुलुकमा भ्रष्टाचार र कुशासनका विषय छरपस्ट भइरहँदा प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ? भनी प्रश्न गरे ।
मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विषय बाहिर आइरहेको छ, नैतिकता छ र सुशासनप्रतिको प्रतिबद्धता छ भने त मन्त्रीले राजीनामा दिनुपर्ने होइन र ?, अध्यक्ष लिङ्देनले प्रश्न गरे, हामी सदन र सडकबाट यसको सशक्त प्रतिवाद गर्छौ ।
अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा’ प्रकरणको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दुई दलले संसदमा विरोध गरिरहँदा जबरजस्ती बैठक चलाउने अभ्यास ठिक नभएको बताए । जनताको आवाजलाई सम्बोधन गर्न सभामुखले पनि पहलकदमी लिनुपर्छ, उनले भने, प्रतिपक्षी दलले उठाएका विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोकुमार चौधरीले गृहमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमाथि उठेका प्रश्नको निश्पक्ष छानबिन गरी जवाफ दिनुपर्ने बताए । आ–आफ्ना पार्टीका तर्फबाट धारणा राखेर रास्वपा र राप्रपाका सांसदहरु बैठकबाट बाहिरिएका छन् ।

प्रतिक्रिया