गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४० जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । उक्त निकायका अनुसार इजरायल र हमासबीचको युद्धविरामको लागि वार्ता हाललाई रोकिएको छ । इजरायल र प्यालेस्टिनी लडाकु समूहका प्रतिनिधिमण्डलहरूले गाजा पट्टीमा २१ महिनादेखि चलेको युद्ध रोकी युद्धविराममा सहमतिका लागि एक हप्तादेखि वार्ता जारी राखेका थिए ।
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले पानी वितरण केन्द्रमा भएको ड्रोन आक्रमणमा १० जना पीडितमध्ये आठ जना बालबालिका रहेको उल्लेख गरेका छन् । इजरायली सेनाले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा एक आतङ्ककारीलाई लक्षित गरी आक्रमण गर्दा ‘प्राविधिक त्रुटि’ भएको जनाउँदै ‘हतियार लक्ष्यबाट दर्जनौँ मिटर टाढा खसेको’ बताएको छ । वासिङ्टन इजरायलको शीर्ष सहयोगी हो भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेको र आफू सम्झौताको लागि आशावादी रहेको बताएका छन् ।
इजरायली नागरिक सुरक्षा निकायका प्रवक्ता बासलले भने युद्ध अन्त्यको तत्काल कुनै सङ्केत नभएको र आइतबार प्यालेस्टिनी क्षेत्रभरि भएको आक्रमणमा गाजा सहरमा ११ जनासहित कम्तीमा ४३ जनाको मृत्यु भएको बताएका छन् । हाल गाजाभरीसैन्य कारबाही तीव्र पारेको इजरायली सेनाले विगत २४ घण्टामा वायुसेनाले ‘१५० भन्दा बढी आतङ्ककारी लक्ष्यहरूमा आक्रमण गरेको’ बताएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले अधिकांश नागरिकसहित कम्तिमा ५८ हजार २६ जना प्यालेस्टिनीहरू इजरायलको जवाबी अभियानमा मारिएको जनाएको छ । संयुक्त राष्ट्र सङ्घका निकायहरूले शनिबार इन्धनको अभाव ‘गम्भीर स्तरमा’ पुगेको र गाजाको २० लाखभन्दा बढी मानिसहरूको अवस्था थप बिग्रने खतरा रहेको चेतावनी दिएका छन् । इजरायल र हमासले एकअर्कालाई सम्झौता रोक्न खोजेको आरोप लगाएपछि शनिबार कतारको राजधानी दोहामा ६० दिने युद्धविराम र बन्धक मुक्तिका लागि वार्ता स्थगित भएको थियो ।
गतिरोधको बावजुद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आशा छ, हामी अर्को हप्तामा यसलाई सुधार्ने छौँ । हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता लिन चाहन्छ, तर वार्ताको जानकारी भएको प्यालेस्टिनी स्रोतले इजरायलले ४० प्रतिशतभन्दा बढी क्षेत्रमा सेना राख्ने योजना प्रस्तुत गरेको बताएको छ ।

प्रतिक्रिया