पोखरा विमाननस्थबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री पाण्डे

नेपालखोज २०८२ असार ३० गते १७:३८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदैँ उनले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताए ।

मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानका सन्दर्भमा विभिन्न किसिमका सहुलियत प्रदान गरिएको र जसकारण उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको बताए ।

हाल हिमालयन एयरलायन्समार्फत पोखरा–ल्हासा नियमित उडान भइरहेको र अन्य एयरलायन्ससँग समेत छलफल तथा समन्वय गरी उडान विस्तार गर्ने प्रयास जारिरहेको उनले उल्लेख गरे ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारका कामलाई विशेष प्राथमिकता दिइएको बताए । मन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराए ।

सरकारले हालसम्म ४७२ वटा हिमाल आरोहणका लागि खुला गरेको तथा ती हिमालको प्रचारप्रसार र प्रवर्द्धनका काम धमाधम भइरहेको उहाँको भनाइ थियो । मन्त्री पाण्डेले पर्यटन विभागले आठ हजार मिटर अग्ला हिमालबारे आधारभूत जानकारीसहितको पुस्तिका प्रकाशन गरी प्रचार गरिरहेको जानकारी दिए । बैठकमा सांसदहरू सूर्यप्रसाद ढकाल, प्रेम सुवाल र माधव सापकोटाले पर्यटन मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गरेका थिए । -रासस

प्रतिक्रिया