बैंकहरुले बढाए कर्णाली प्रदेशमा कृषि कर्जा, मुगुमा सबैभन्दा कम

नेपालखोज २०८२ असार ३० गते १७:५०

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले कर्णाली प्रदेशमा कृषि कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदन २०८१/८२ अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आवको सोही अवधिको तुलनामा १४ दशमलव एक प्रतिशतले बढेर पाँच अर्ब १५ करोड ५६ लाख पुगेको छ ।

समीक्षा अवधिमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी बीउबिजन शीर्षकमा ११ लाख पुगेको छ भने सिँचाई शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै एक अर्ब ८५ करोड ८२ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम १३ करोड ७५ लाख मुगु जिल्लामा प्रवाहित भएको देखिन्छ ।

क्षेत्रगत औद्योगिक कर्जा अन्र्तगत कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०÷८१ को पुुस मसान्तमा तीन अर्ब ३० करोड २१ लाख रहेको कुल औद्योगिक कर्जा समीक्षा अवधिमा १४ दशमलव ९५ प्रतिशतल वृद्धि भई तीन अर्ब ७९ करोड ५६ लाख पुगेको छ । समीक्षा अवधिमा धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ भने कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा १५ दशमलव २९ प्रतिशतले कमी आएको छ ।

समीक्षा अवधिमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै दुई अर्ब ३२ करोड ३२ लाख औद्योगिक कर्जा प्रवाह भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम एक करोड २८ लाख कर्जा प्रवाह भएको छ । समीक्षा अवधिमा कुल औद्योगिक कर्जामध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी क्षेत्रकोे अंश सबैभन्दा बढी २९ दशमलव ७२ प्रतिशत र खानी सम्बन्धी क्षेत्रको अंश सबैभन्दा कम एक दशमलव ४३ प्रतिशत रहेको छ ।

त्यसैगरी, निर्माण सम्बन्धी उद्योग, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योग, धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योग र विद्युत, ग्याँस तथा पानी सम्बन्धीे उद्योगले कुल औद्योगिक कर्जाको क्रमशः २८ दशमलव ६८ प्रतिशत, २३ दशमलव ५५ प्रतिशत, ११ दशमलव ८७ प्रतिशत र चार दशमलव ७५ प्रतिशत हिस्सा ओगटेका छन ।

राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका चार सय ७७ शाखा रहेका छन । गत अवधिमा यस प्रदेशमा जम्मा चार सय ६६ वटा शाखा रहेका थिए । समीक्षा अवधिमा ११ शाखा बिस्तार भई शाखा संख्या चार सय ७७ पुगेको छ जसमध्ये वाणिज्य बैंकका दुई सय १५ वटा, विकास बैंकका २१ वटा, वित्त कम्पनीका ३ वटा र लघु वित्त वित्तीय संस्थाका दुई सय ३८ वटा रहेका छन । समीक्षा अवधिमा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप गत अवधिको तुलनामा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भई ७४ अर्ब २८ करोड पुगेको छ ।

गत अवधिमा यस्तो निक्षेप पाँच दशमलव ४२ प्रतिशतले वृद्धि भई ६५ अर्ब ९८ करोड ४७ लाख पुगेको थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिटयान्स आप्रवाह, बैकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया