पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

नेपालखोज २०८२ असार ३२ गते १३:४१

ढोरपाटन । हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् ।

अहिले बागलुङको ‘बुकीपाटन’ पनि पदयात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । गाउँबाट होस् वा सहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह देखिन थालेको स्थानीय बताउँछन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको प्रचारप्रसार हुन थालेपछि हिजोआज पदयात्रा गर्ने पर्यटको सङ्ख्या बढेको ढोरपाटन नगरपालिका-९ का गुनबहादुर बुढामगरले बताए ।

बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाउने, गर्मीयाममा शीतलता हुने भएकाले युवाहरूमा पदयात्रा (ट्रेकिङ) मोह बढेको उहाँको भनाइ छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन गत वर्षदेखि बढी चर्चामा आएको हो । ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकीपाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पर्दछ ।

बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म मानिने बुढामगरले जानकारी दिए । यो याम बढी मनमोहक हुने भएकाले पदयात्रमा आउने पयटक बढेका बताउँदै उनले यसअघि ढोरपाटन आउने पर्यटक उपत्यकाबाटै फर्किने गरेकामा हिजोआज बुकीपाटनसम्म उक्लिने गरेका जानकारी दिए ।

आफूहरू बर्खामा वस्तुभाउ लिएर बुकीपाटन उक्लिने र हिउँदमा बेँसी झर्ने गरेको स्मरण गर्दै उनले पहिले बाहिरी मान्छे खास्सै नजाने गरेकामा पछिल्लो समय यो याममा दैनिक ५० जना युवा बुकीपाटनसम्म जाने गरेका उल्लेख गरे ।

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताए । पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेका उनको भनाइ छ । पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत ठाउँबाट युवाहरू पदयात्रा गर्न आउने गरेका घर्तीले बताए ।

चितवनका रेवनकुमार शाक्यले तराईमा गर्मी हुँदा शीतलताका लागि बुकीपाटन पदयात्रामा आएको बताए । ढोरपाटनसम्म गाडीमा आएको सुनाउँदै त्यसभन्दा माथि पदयात्रा गरेको उनको भनाइ छ । बुकीपाटन जाँदा बाटोमा धेरै पदयात्रीहरू देखेको सुनाउँदै आफूहरू पनि पाँच जनाको टोली आएको शाक्यले जानकारी दिए । स्थानीय सरकारले बुकीपाटन पुग्ने पदमार्गलाई थप व्यवस्थित र आकर्षित बनाउनुपर्नेमा उनले जोड दिए ।

पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा विनियोजन गरेको २० लाख रूपैयाँमा पदमार्गलगायत पूर्वाधार निर्माण छ ।

ढोरपाटन नगरपालिका-९ पाखाथरबाट गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । पदमार्गसँग विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको बताउँदै आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना रहेको उनको भनाइ छ । रासस

प्रतिक्रिया