समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

नेपालखोज २०८२ असार ३२ गते १७:२०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराइएको हो ।

सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक रु दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेको जानकारी दिए ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठले यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए ।

निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कंठले जानकारी दिए । उनका अनुसार चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लडलाइटमध्ये तीन वटा पोल आइसकेका न्छ ।

प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको कंठले जानकारी दिए ।

प्रतिक्रिया