तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किलाेमिटर सडक

नेपालखोज २०८२ असार ३२ गते १९:५८

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।

दुई हजार दुई सय मिटर लामो उक्त सडक निर्माणको ठेक्का विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले लिएको थियो ।

निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक समयमा विस्तार र स्तरोन्नति हुन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका इञ्जिनीयर किरण सुवेदीले उक्त सडक निर्माणमा हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति भएको बताए ।

गत वैशाख दोस्रो सातादेखि अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सुरू गरिए पनि पहिलो चरणको कालोपत्र अझै नसकिएको उनको भनाइ छ ।

हरिचोकतर्फबाट सुरू भएको पहिलो तहको कालोपत्र अन्तिम चरणमा पुगेको उनको भनाइ छ । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माण प्रभावित बनेको इञ्जीनीयर सुवेदीले बताए ।

आगामी हिउँदसम्ममा उक्त खण्डको यातायात सेवा सहज हुने उनको भनाइ छ । ‘लामो समय सडक नबन्दा स्थानीयवासी र यात्रु मर्कामा थिए, अब भने धेरै सहज भइसकेको छ’, उनले भने ।

उक्त खण्डको दुवैतर्फ चार लेनको सडक चार वर्षअघि नै बनिसकेको थियो । बीचको खण्ड जीर्ण हुँदा प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यातायात सेवा असहज बन्दै आएको छ । सडक कच्ची र अस्तव्यस्त हुँदा सवारी जामको समस्या र दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ ।

आयोजना कार्यालयका अनुसार दुई वर्षमा सक्ने ठेक्का सम्झौता भए पनि समयमा काम पूरा हुन नसकेपछि दुई पटकसम्म ठेक्का म्याद थपिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्न खोजे पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिने प्रतिबद्धता गरेपछि म्याद थपिँदै आएको हो ।

निर्माण कम्पनीले प्रतिबद्धता अनुसार समयमा काम गर्न नसकेको इञ्जीनीयर सुवेदीले बताए । उक्त सडक निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयवासीले पठक–पटक आयोजना कार्यालयलगायत सरोकार भएका पक्षलाई ध्यानाकर्षण गराएका थिए ।

गतवर्ष असार १५ मा सडकमै रोपाइँ गरेर दबाबमूलक कार्यक्रमसमेत गरेका थिए । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउँजाउ गर्ने गरेका छन् । -रासस

प्रतिक्रिया