एमाले पोलिटब्यूरो बैठक : विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेका थिए ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा ६८ जना पोलिटब्यूरो सदस्यले आफ्नो राय राख्नु भएको प्रचार विभाग प्रमुख गौतमले बताए ।
विधानमा पार्टीभित्र सङ्गठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिए । यस्तै, जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ ।
पूर्वराष्टपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए ।
पूर्वराष्ट्रपति भण्डारीका विषयमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरिने उहाँले जानकारी दिए । आज पारित गरिएको विधान संशोधन प्रस्ताव यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राख्ने तय भएको छ । -रासस

प्रतिक्रिया