हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उहाँलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो ।
‘पहिलोपल्ट त भूकम्प हो कि भनेर डराएँ’, मन्सराले सम्झिइन्, ‘बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ– हात्तीको विशाल शरीर । एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ । धन्न भगवान्ले आमाछोराको ज्यानै जोगाए, हात्तीले तोडेको भित्तो (पर्खाल) नजिकै सुतेका थियौँ बाँच्यौँ, त्यसबेला केही सोचिन छोरा र आफ्नो ज्यान जोगिए हुन्थ्यो भनेर भगवान्सँग प्रार्थना गर्दै निस्किएँ’, उनी भन्छन् ।
हात्तीको बथानले घरको भित्ता भत्काएर भित्र राखिएको सबै अन्नपात खाएको साउदले बताए । बचेको सबै खुट्टाले कुल्चेर कामै नलाग्ने बनाइदिएको उनी बताउँछन् । ‘त्यो रात मेरा लागि कहिल्यै नबिर्सिने भयो’, साउद भन्छन् ।
अहिले छिमेकीले मन्सारको भत्केको घरको भित्तो लिपपोत गरिदिएका छन् । हात्तीले न खाद्यान्न छोड्छ, न घर । ऐश्वर्या सामुदायिक वनको सीमावर्ती बस्ती हात्तीको नियमित मार्ग बनेको छ । हात्ती आतङ्क रोक्न मेसवायर, पर्खाल वा चेतावनी प्रणालीको आवश्यकता देखिएको छ । स्थानीयलाई रातभर आगो बालेर हात्ती भगाउनुपर्ने बाध्यता छ । -रासस

प्रतिक्रिया