धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर

राँझा । साउन महिना सुरु भएसँगै बाँकेको नरैनापुरस्थित चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । साउन सुरु भएसँगै मन्दिरमा सामूहिक रूपमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको हो ।
पछिल्लो केही वर्षयता सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले बताए । उनका अनुसार साउनमा सोमबार र शनिबार बाँके, बर्दिया, दाङलगायत छिमेकी मुलुक भारतबाट समेत भक्तजन यहाँ आउने गरेका छन् ।
‘सन्तानेश्वर मन्दिरको आफ्नै महत्व र इतिहास छ, भगवान् शिवले मानवसहित सजीव प्राणीका मनोकाङ्क्षा भन्ने जनविश्वास रहिआएकाले यहाँ दर्शन गरेर मनकाङ्क्षा पूरा हुनाका साथै मोक्ष प्राप्ति हुने धार्मिक विश्वास गरिन्छ’, पुजारी गिरीले भने ।
सोही विश्वासअनुसार साउनको महिनामा सोमबारे व्रत बसेका महिला तथा युवायुवती कष्टका साथ सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको उनको भनाइ छ । धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको यस मन्दिरसम्म पुग्ने व्यवस्थित सडक नबन्दा पर्यटकको आगमन तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
सन्तानेश्वर महादेव मन्दिरमा पुग्ने भक्तजन बर्सेनि थपिँदै गए पनि यहाँको भौतिक पूर्वाधारको काम भने हुन सकेको छैन । मन्दिरसम्म पुग्ने सडक, खानेपानी र ओत लाग्ने आश्रमस्थल नहुँदा भक्तजनले कष्ट व्यहोर्नु परेको मुख्य पुजारी गिरीले बताए । स्थानीय निकायले पूर्वाधार निर्माण गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालगञ्जबाट ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किमी जङ्गलको कच्ची बाटोमा मोटरसाइकलबाट यात्रा गरेपछि करिब दुई किमी पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ ।
सहरभन्दा टाढा जङ्गलको बीच पहाडको टाकुरामा मन्दिर रहेकाले प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन गर्दै पैदलयात्राका लागि नेपालगञ्जबाट समूह बनाएर सन्तानेश्वर पुगेको नेपालगञ्ज–६ फुल्टेक्रा अर्जुनसिंह ठकुरीले बताए । आफूहरू प्रत्येक वर्षको साउनमा यहाँ पुग्ने गरेको भन्दै सडक स्तरोन्नति नहुँदा समस्या भएको उल्लेख गरे ।
सन्तानेश्वर मन्दिरमा पहिलो पटक पुगेकी कोहलपुर नगरपालिका–२१ की सिर्जना थापाले मन्दिर पुग्ने बाटो असहज भएपनि साथीहरूसँग समूहमा आउँदा रमाइलो भएको बताए । उनले सन्तानेश्वर महादेवको पूजाअर्चनासँगै पहाडको उकालो बाटो, हरियाली वनजङ्गलको प्राकृतिक दृश्यले मनोरम तुल्याएको उल्लेख गरे ।
बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गर्ने बताए ।
राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्ग र सन्तानेश्वरमा खानेपानीको काम चालु आर्थिक वर्षमा सुरु गरिने उहाँले जानकारी दिए । -रासस

प्रतिक्रिया