ब्राजिलका न्यायाधीशमाथि अमेरिकी प्रतिबन्ध

नेपालखोज २०८२ साउन ४ गते ७:४८

ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए ।

राष्ट्रपति लुलाले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेका छन्, ‘मेरो ऐक्यबद्धता र समर्थन सर्वोच्च सङ्घीय अदालतका न्यायाधीशहरूप्रति रहन्छ । उनी अमेरिकी सरकारको अर्को स्वेच्छाचारी र पूर्णतया आधारहीन कदमबाट प्रभावित हुनुभएको छैन ।’

बोल्सोनारोमाथि सन् २०२२ मा लुलाले जितेको चुनाव उल्टाएर सत्तामा टिकिरहन खोजेको आरोप लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोले इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए ।

त्यसको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मोरास र उहाँका ‘सहयोगी’ र उनीहरूका परिवारका सदस्यहरूको भिसा रद्द गरेको थियो ।

ट्रम्प र बोल्सोनारो दुवैले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्दै आएका छन् र बोल्सोनारोले आफ्नो फैसलालाई लिएर न्यायाधीशहरूमाथि बारम्बार मौखिक आक्रमण गर्ने गरेका छन् । -रासस/एएफपी

प्रतिक्रिया