आज राति सवारी नचलाउन जिल्ला सुरक्षा समिति स्याङ्जाको आग्रह

वालिङ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज राति स्याङ्जामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाले स्याङ्जासहित छिमेकी जिल्लाहरूमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी रातको समयमा सवारीसाधन सञ्चालन नगर्न÷नगराउन अनुरोध गरेको हो ।
स्याङ्जामा आज बिहानदेखि अविरल वर्षा भइरहेको र भोलिसम्म वर्षा हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति हुन नदिन जिल्ला सुरक्षा समितिले निर्णय राति सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
‘मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भनी प्रक्षेपण गरेकाले आज साँझ ५ः०० बजेदेखि भोलि बिहान ५ बजेसम्म १२ घण्टा अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेका छौँ’, उनले भने, ‘अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन गर्नैपर्ने अवस्था आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आग्रह छ ।’
जिल्लाको मध्यभाग भएर सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग करिब ९० किलोमिटर रहेको छ । यस राजमार्ग तथा जिल्लाभित्रका अन्य सहायक सडकमा पनि रातको समयमा सवारीसाधन सञ्चालन नगर्न जिल्ला सुरक्षा समितिले निर्णयसहित अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सम्भावित वर्षाका कारणले भूक्ष्य, बाढी, पहिरोको जोखिम रहेकाले कालीगण्डकी नदी किनार, आँधीखोलालगायतका स्थानीय खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरिएको छ । -रासस

प्रतिक्रिया